लण्डन, १ असोज । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ बेलायतको प्रसिद्ध रोयल अल्बर्ट हलमा आयोजित सांगीतिक प्रस्तुतिबाट उठेको रकम गोर्खा जिल्लामा भूकम्पबाट क्षतिग्रस्त दुईवटा विद्यालयहरुको पुनर्नर्मिाणकालागि पठाइने हेल्पनेपाल नेटवर्क युके शाखाले जनाएको छ।

गत जुन २८ तारिखका दिन रोयल अल्बर्ट हलमा पहिलो नेपाली सांगीतिक प्रस्तुतिबाट उठेको साथै अन्य व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोग समेत झण्डै चालिस लाख रुपियाँ नेपाल पठाइने आयोजकहरुले जनाए।

मंगलबार ब्ल्याकहिथस्थित एभरेस्ट इन रेष्टुरेण्टमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले टिकट बिक्री, विज्ञापन तथा अन्य सहयोग समेत गरी ९०,३८०  पौण्ड उठेको र हल भाडा, कलाकारहरुको आतेजाते लगायत जम्मा ६५,१७४ पौण्ड     खर्च भएको बताउनु भयो। कार्यक्रमको खर्च कटाइ बचेको २५,२०६ पौण्ड (झण्डै चालिस लाख रुपियाँ) हेल्पनेपाल नेटवर्क काठमाडौंसंग समन्वय गरी छिट्टै गोर्खाका दुईवटा विद्यालयहरुमा पठाइने पनि उहाँले बताउनु भयो। सहयोगकालागि प्राप्त आवेदनहरुमध्येबाट दुईवटा विद्यालयहरुको छनोट गर्ने काम भैरहेको पनि उहाँले बताउनुभयो।

गोर्खा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेको संयोजनमा आयोजित कार्यक्रममा नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापा मगर, जेम्स प्रधान, सुजील कर्माचार्य, तुष्णा गुरुङ लगायतका गायकहरुले आकर्षक सांगीतिक प्रस्तुति गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै चर्चित गायक योगेश्वर अमात्यले रोयल अल्बर्ट हलको सांगीतिक प्रस्तुति नेपाली सांगीतिक जगतकालागि एउटा कोशेढुंगो सावित भएको बताउनुहुँदै सो कार्यक्रम सफल पार्न सघाउनु हुनै सबैलाई हार्दिक धन्यवाद दिनुभयो। उहाँले आगामी दिनहरुमा पनि स्रोता, दर्शकहरुको यस्तै माया पाइरहने विश्वास पनि व्यक्त गर्नुभयो।

“रोयल अल्बर्टहलमा पहिलो पटक आयोजित नेपाली सांगीतिक कार्यक्रममा उत्साहपूर्वक सहभागी हुने सबै दर्शकहरु, सोही कार्यक्रमकालागि नेपालबाट आउनुभएका कलाकारहरु, प्रायोजक तथा स्वयम्सेवीहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं,” हेल्पनेपाल नेटवर्क युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रसिद्ध प्रधानले भन्नुभयो।

हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष डा प्रणव ज्ञवालीको अध्यक्षतामा सन्चालित सो समारोहमा रोयल अल्बर्ट हलको कार्यक्रमलाई सफल पार्न सहयोग पुराउनुहुने स्वयम्सेवकहरु तथा प्रायोजकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यसमितिका सदस्य यादव भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।