वीरगंज,२४ आषाढ  । वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल ट्वेन्टी–२० क्रिकेटमा ८ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।गेलले क्यारेबियन प्रिमियर लिग टी–२० प्रतियोगितामा जमैकाको तालवाहको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उपलब्धि हासिल गरेका हुन् ।जमैकाको किंग्सटनमा हालै सेन्टलुसिया जाउक्सविरुद्धको खेलमा ३५ वर्षीय गेलले अविजित ६४ रन बनाएपछि आइसीसी मान्यता प्राप्त टी–२० क्रिकेटमा उनको ८ हजार रन पूरा भएको हो ।

गेलले अहिलेसम्म खेलेका २१७ ओटा टी–२० खेलमा ८ हजार ३७ रन जोडेका छन् । जसमा १५ ओटा शतक र ५२ ओटा अर्धशतक सामेल छन् ।टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा गेलपछि अष्ट्रेलियाका ब्राड हग रहेका छन् । उनले अहिलेसम्म ६ हजार ५ सय ३२ रन बनाएका छन् । (एजेन्सी)