काठमाडौँ : नेपालका भूकम्पपीडितलाई सहयोग गर्न मलेसिया क्रिकेटको आयोजनामा मलेसियामा भएको टी ट्वान्टी खेलमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ।   विश्व ११ बाट कप्तानी गरेका सनथ जयसूर्याले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले निर्धारित २० ओभरको खेल सकिन २ बल बाँकी छँदा १३५ रनमा अल आउट गरेको थियो। अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी मगर र शरद् भेषावकरले दुई दुई विकेट लिए। विश्व ११ का तर्फबाट सुरुवाती ब्याटसम्यान स्टोइनिसले ४८ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा ९८ रनमै समेटियो। अनिल मण्डल र राजु रिजालले सबैभन्दा बढी १७/१७ रन बनाए। नरेश बुढायर र सिद्धान्त लोहनीले १३/१३ रन बनाए। शरद भेषावकर र महबूब आलमले ११/११ रन बनाए। कप्तान पारस खड्का दुई रनमै आउट भए भने राजेश पुलामी मगरले कुनै रन जोड्न सकेनन्। सोमपाल कामीले ७, शक्ति गौचनले २ र अविनाश कर्णले १ रन बनाए।