काठमाडौं, असोज २६ – उन्नाइ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट खेल्न नेपाली टोली मंगलबार मलेसिया जाँदैछ । टोली दिउँसो साढे १२ बजे मलेसिया प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिता आउँदो बिहीबारदेखि मलेसियामा हुँदैछ । छनौट प्रतियोगिता यसअघि नेपालमा हुने तय भएको थियो । तर वैशाख १२ मा गएको भूकम्पले गर्दा भौतिक संरचनामा क्षति पुगेको भन्दै अन्तर्राष्ट्रि क्रिकेट परिषदले प्रतियोगिताको स्थान परिवर्तन गरेर मलेसियामा गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिताका लागि नेपाली टोलीले भारतको दिल्लीमा दुई हप्ता अभ्यास गरेको थियो । छनौट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा, र पपुवा न्यु गिनी सहभागी हुनेछन् ।

छनौट प्रतियोगिताको विजेताले अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । १९ वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र जिम्बाबे सहभागी हुनेछन् ।

यस्तै प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तान, नामिबिया, क्यानडा, फिजी र स्कटल्याण्डले स्थान पक्का गरी सकेका छन् । अब मलेसियामा हुने छनौट प्रतियोगितामा विजेता बन्ने टोलीले प्रतियोगिताका लागि स्थान बनाउने छ ।

नेपालले आफ्नो पहिलो खेलमा बिहीबार पपुवा न्यु गिनीसँग खेल्नेछ भने त्यसको भोलिपल्ट युगान्डासँग खेल्नेछ । यस अघि नेपाली टोली मलेसियामा भएको १९ वर्ष मुनिको आइसिसी प्रिमियर लिगको उपविजेता बनेको थियो ।