वीरगंज २९ भदौ । सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ । न्याय परिषदको हिजो बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् । यसैबीच न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ । न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।