वीरगंज, साउन, ४ । पर्सा जिल्लाको सीमासंग जोडिएको भारतको नरकटियागंजमा भारतीय सीमा सुरक्षा प्रहरी बलले ५७ किलो चरेस बरामद भएको तीनदिन पनि नबित्दै चरेस भारत निकासी हुने प्रमुख थलो मकवानपुरको हेटौटा उपमहानगरपालिकास्थित रोशन लजबाट सशस्त्र प्रहरीको टोलिले तीस किलो चरेससहित सातजना पक्राउ परेको समाचार छ । सशस्त्र प्रहरीको बारा र मकवानपुरको युनिटहरुको संयुक्त टोलिले हेटौडा उपमहानगरपालिकामा रहेको रोशन लजमा छापामारी गरी ३० किलो चरेससहित सातजनालाई पक्राउ गरेको हो । बिहान साढे पाच बजेको समयमा सशस्त्रले सो लजमा छापामारी गर्दा दुई महिलासहित सातजनाबाट एक÷एककिलोको तीसवटा चरेसको पोका फेला परेको थियो । चरेससँगै पक्राउ पर्ने सातजनामध्ये चार जना भारतीय छन । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट निवासी कलमा खातुन, मकवानपुर थाहा नगरपालिकाका विक्रम स्याङतेन, हिरा स्याङतेन गरी तीनजना नेपाली छन भने भारतका सुरज पटेल, निर्भय सिंह, मुकेश सर्राफ, कलावती देवी साह गरी चारजना छन । सशस्त्रको टोलिले रोशन लजमा चरेस ओसारपसारमा प्रयोग गरिने भारतीय नम्बर प्लेटको मारुती कार पनि नियन्त्रणमा लिएको छ । सशस्त्रले बरामद चरेस, सातजना मानिस र मारुती कार आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई हस्तान्तरण गरेको बुझिन आएको छ ।