बर्दिया, १८ भदौ । यात्रुवहाक बसलाई रोकेपछि छुटाउन गएका प्रहरीका हवल्दारको गोली प्रहार गरी हत्या गरेको आरोपमा बर्दियामा तीन जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान बर्दियाको मैनापोखरमा यात्रुवहाक बस सञ्चालनमा अवरोध गरेपछि छुटाउन गएका नेपाल प्रहरीका हवल्दार देवबहादुर पाण्डेको प्रदर्शनकारीले गोली हानेर हत्या गरेको आरोप लगाएको प्रहरीले शुक्रबार दिउँसो तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा मैनापोखर–८ का नरेश थारु, रामहरथ थारु र अविनाश थारुलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसअघि हवल्दारमाथि भाला प्रहार भएको बताइए पनि प्रहरीले भने गोली प्रहार भएको दावी गरेको छ । प्रहरीका अनुसार मकैबारीमा लुकेका प्रदर्शनकारीले हवल्दार पाण्डको गोली प्रहार गरी हत्या गरेको हो ।

पूर्वबाट छुटेका रात्री बसलाई सुरक्षा दिएर बर्दिया सदरमुकाम गुलरिया लैजाने क्रममा मैनापोखरमा थरुहटका प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका हवल्दार पाण्डेको उपचारका लागि बाँकेको नेपालजञ्ज लैजाने क्रममा बाटैमा ज्यान गएको थियो ।