कास्की, ३२ साउन । कास्की कांग्रेसका नेता रामजी पौडेलको हत्या अभियोगमा पक्राउ परेका नगर समिति सभापति राजेन्द्रमणी लामिछाने प्रहरी हिरासतमै अनसन बस्नुभएको छ । पार्टी कार्यकर्ताबाटै हत्यामा संलग्नताको आरोप लागेपछि प्रहरीले शनिवार लामिछानेलाई पोखराबाट पक्राउ गरेको थियो । पक्राउ परेदेखि पानी मात्र खाएर लामिछाने अनसन बसेका छन् ।

हिरासतमा भेट्न गएका कांग्रेस नेता तथा कार्यकर्ताहरु माझ लामिछानेले अनुसन्धानको क्रममा आफ्नो संलग्नता पुष्टी भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । घटनाको निश्पक्ष छानविन, हत्यारालाई छिटो पत्ता लगाई कारबाही र बास्तविक हत्यारा नछुटोस् भन्ने माग सहित हिरासतमै अनसन बसेको भेटमा सहभागि काँग्रेस नेताले बताएका छन् ।

हत्यामा संलग्न राजु रानाभाट शुक्रवारनै पक्राउ परेका छन् भने फरार रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतमको खोजी भैरहेको कास्कीका प्रहरी उपरिक्षक हरि बहादुर पालले बताए ।