बीरगंज १ फागुण । स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरुस्कार पर्साका २ जना पत्रकारहरुलाई प्रदान गरिएको छ । गत वर्ष र यस वर्ष गरि दुई वर्षको स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार कार्यक्रममा प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतम र ध्रुव साहलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष शत्रुघ्न नेपालको संयोजकत्वको छनौट समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कार दिने निर्णय गरिएको थियो । पुरस्कृत पत्रकार गौतम वीरगञ्जबाट प्रकाशित हुँदै आएको सर्व राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साह रेडियो वीरगञ्जका सञ्चालक हुन् ।

यसभन्दा अघि यो पुरस्कारबाट पत्रकार मुकुन्द आचार्य,के.सी.लामिछाने,ओमप्रकाश खनाल,बिम्मी शर्मा,शत्रुघ्न नेपाल,राजु श्रेष्ठ,शितल महतो,श्याम बन्जारा लगायतका पत्रकार पुरस्कृत भइसकेका छन ।

पुरस्कृत पत्रकारहरुलाई नगद २५÷२५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको नेपाल पत्रकार महासंघ पर्सा शाखा सचिव युवराज खड्काले जानकारी दिए  । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । वीरगञ्जको मेयर रहेको बखत २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोली हानी गोपाल गिरीको हत्या  गरेको थियो ।

उनैै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार स्थापना गरेको थियो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधि सभा सदस्य बिमल श्रीवास्तव, प्रदिप यादव, गोपाल गिरीका छोरा गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी, पुरस्कृत पत्रकारद्वय लगायतले गिरीको योगदानको बारेमा चर्चा गरेका थिए ।