वीरगंज अषाढ १०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेका स्थानीय तहमा कर्मचारी अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको आज उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहका लागि दश हजार कर्मचारी पठाउने तयारी भइरहेको बताए ।जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताउँदै राज्यलाई ढाटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने मन्त्री पण्डितले चेतावनी समेत दिए ।मुलुकमा राजनीतिक संक्रमण सकिएपनि अहिले राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको उनको भनाइ छ ।संघीय संरचनापछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेको भन्दै मन्त्री पण्डितले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।स्थानीय स्रोत र साधनलाई बढी प्रयोग गर्दै बिकासका कामलाई गति दिन सके सफलता हासिल गर्न सक्ने उनको भनाइ थियो ।कार्यक्रममा प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, शोभा लामालगायतले सम्बोधन गरेका थिए ।सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।