सिन्धुली, जेठ १३ गते – विनासकारी भूकम्पबाट सिन्धुली जिल्लामा शिक्षा क्षेत्रमा मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको क्षती भएको जिल्ला शिक्षा कार्यालयलले जनाएको छ । जिल्लाका ५७७ वटा विद्यालयमध्ये भूकम्पबाट ४४८ वटा विद्यालयमा क्षती पुगेको हो ।

यीमध्ये एक सय १९ वटा विद्यालय सञ्चालन गर्न नसक्ने गरी क्षती पुगेको र एक सय २९ वटा विद्यालय मर्मत गर्नुपर्ने भएको हो ।

भूकम्पले क्षती पु¥याएका विद्यालयमा ७० हजार बिद्यार्थी अध्ययनरत  छन्  । क्षतीग्रस्त विद्यालयका तीनहजार ९८२ वटा कक्षा कोठामध्ये जम्मा ८४ वटा कक्षा कोठामात्र काम लाग्ने अवस्था रहेको शिक्षा कार्यालयका इन्जिनियर अजय शाहले जानकारी दिनुभयो । भूकम्पका कारण जिल्लाका ८० प्रतिशत विद्यालय भवन र त्यस्ता विद्यालयमा निर्माण गरिएका भौतिक संरचनाहरुमा क्षती पुगेको उहाँको भनाई छ ।

‘जिल्लामा एउटा कक्षा कोठा तयार हुन कम्तीमा तीन लाख रुपैयाँ लाग्छ ।  जिल्लामा तीन हजार ६७८ वटा कक्षा कोठामा क्षती पुगेको छ । यसलाई मात्र हेर्ने हो भने एक अर्ब दश करोड रुपैयाँ बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरीएको छ,’ ईन्जिनियर शाहले भन्नुभयो ।