काठमाडौं,२४  साउन : गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.३८ अंक अर्थात् १.२० प्रतिशतले बढेको छ । अघिल्लो साता १०२७.९८ अंकमा रहेको नेप्से आइतबार ६.१६ अंकले बढेको थियो भने सोमबार ३.७४ अंक र मंगलबार ०.४८ अंकले घटेको थियो ।

बुधबार र बिहीबार क्रमशकः ४.१० अंक र ६.३४ अंकले बढेको नेप्से साताको अन्त्यमा १०४०.३६ अंकमा बन्द भएको थियो । यो साता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक १.८ अंकले बढेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट सूचकहरूमा क्रमशः १ र ०.७९ झिनो अंकले सुधार आएको छ ।
त्यस्तै समूहगत परिसूचकहरूमध्ये सबैभन्दा बढी बिमा समूहमा २२४.३४ अंकको सुधार देखिएको छ भने होटल, टे«डिङ, बैंकिङ, डेभलपमेन्ट बैंक र फाइनान्स समूहको परिसूचकहरूमा क्रमशः १५.७१, ११.५२, ६.५८, ४.०८ र १.३३ अंकले सुधार आएको छ । अन्य, उत्पादनमूलक र हाइड्रोपावर समुह भने क्रमशः १५.२७, ८.३६ र २.७५ अंकले घटेको छ ।
गत साता नेप्सेमा जम्मा १७२ कम्पनीको ४८ लाख ४६ हजार ९३५ कित्ता सेयरको कारोबारबाट २ अर्ब ४८ करोड १७ लाख ५६ हजार ९७१ रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ, जुन अघिल्लो साताको तुलनामा कारोबार रकमका हिसाबले १९ प्रतिशतले कम हो भने कारोबार कित्ताको हिसाबले ३३.०६ प्रतिशतले कम हो ।

कारोबार रकम र कारोबार कित्ताको आधारमा ३३ करोड ८३ लाख ३५ हजार ६ सय ७५ रुपैयाँबराबरको ५ लाख ७१ हजार ४ सय १९ कित्ता कारोबारसहित नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमोटर सेयर यस साता अग्रस्थानमा रह्यो ।

कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा एभरेस्ट बैंक र हिमालयन बैंक रहे भने कारोबार कित्ताका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रह्यो ।

कारोबार संख्याका आधारमा ८१० वटा कारोबारका साथ यस साता प्राइम कमर्सियल बैंकले पहिलो स्थान ओगट्न सफल भयो भने ६५६ वटा र ५९० वटा कारोबारका साथ क्रमशः सानिमा माई हाइड्रोपावर र सिटिजन्स बैंक इन्टरनेसनल दोस्रो र तेस्रो स्थानमा रहन सफल भए ।
यो साता सवैभन्दा बढी कमाउने ५ कम्पनीहरूमा सेन्ट्रल फाइनान्स, हिमालयन बैंक, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, सृजना फाईनान्स (वित्तीय संस्था) र युनाइटेड इन्स्योरेन्स कम्पनी रह्यो भने सबैभन्दा बढी गुमाउने ५ कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमोटर शेयर, नयाँ नेपाल लघुवित्त विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, मालिका डेभलपमेन्ट बैंक प्रमोटर शेयर र शुभेच्छा विकास बैंक रहे ।

साताको अन्तिममा नेप्सेको कुल बजार पुँजीकरण गत साताको तुलनामा १२.७६ अर्ब रुपैयाँले बढेर १०७०.८६ अर्ब रुपैयाँ कायम भएको छ भने फ्लोट बजार पुँजीकरण ३४२.९७ अर्ब रुपैयाँ कायम भएको छ ।