काठमाडौं,बैशाख १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध व्यवस्थापिका संसद् बैठकमा कडारुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । कांग्रेसको संसदीय दलको कार्यसमितिको आइतबार अपराहृन बसेको बैठकमा ओली सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै उक्त चेतावनी दिएको हो ।

संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कूटनीतिक क्षेत्रमा ओली सरकार असफल भएको निष्कर्ष बताउदै मंगलबारदेखि सुरु हुने व्यवस्थापिका संसद् बैठकमा सरकारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ । सरकारले प्रचार मात्र गरेको, वर्षा र हिउँद पालमुनी कटाएका भूकम्प प्रभावितहरुलाई घर बनाउन २ लाख अनुदान दिन बेवास्ता गरेको तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत चासो नदिएको कांग्रेसको आरोप छ ।