काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसहित मध्यपश्चिमका ३५ सभासद्ले ‘समग्र मध्यपश्चिम एक प्रदेश’ बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । मध्यपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३५ सभासद्हरुको बैठकले ‘समग्र मध्यपश्चिम एक प्रदेश’ बनाउने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मध्यपश्चिका सभासद्हरुको भेलामा समग्र मध्यपश्चि एक प्रदेशको प्रस्ताव उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गरेका थिए । गौतमले मध्यपश्चिमको भौगलिक र साँस्कृतिक महत्व छुट्टै भएकोले त्यसलाई भत्काउन नहुने बताएका थिए । समग्र मध्यपश्चिम एक प्रदेश बनाउन गृहमन्त्री तथा एमाले उपाध्यक्ष गौतमले अग्रसरता लिएका छन् ।

समग्र मध्यपश्चिम एक प्रदेशका पक्षमा गृहमन्त्री गौतम, नेपाली कांग्रेसका उपमहामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री तथा एनेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा, एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, एमाले केन्द्रीय सदस्य तथा बाँकेका सभासद् देवराज भार लगाएत ३५ सभासद उभिएका छन् । समग्र मध्यपश्चिम एक प्रदेशका पक्षमा बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा र सल्यान रुकुमका सभासदहरु एक जुट भएका छन् । दाङ र रोल्पाका सभासद् समग्र मध्यपश्चिमका पक्षमा उभिन सकेका छैनन् भने प्यूठानका सभासद्हरुले लुम्बिनी प्रदेशमा समाहितको माग गरेका छन् ।

समग्र मध्यपश्चिमको माग गर्दै बानेश्वरमा धर्ना
समग्र मध्यपश्चिम एक प्रदेशको माग गर्दै मध्यपश्चिमका युवा नेता, कलाकार, र प्राध्यापाकहरुले काठमाडौँको बानेश्वरमा धर्ना दिइरहेका छन् ।मध्यपश्चिमका युवा नेता तथा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष ऋषिकेश जंग शाह, एमाले युवा नेता योगेन्द्र शाहीको नेतृत्वमा सयौ युवा तथा प्रध्यापकहरुले संविधानसभा भवन बानेश्वरमा धर्ना दिइरहेका छन् । उनीहरुको धर्ना कार्यक्रममा मध्यपश्चिमका सभासद्हरु पनि सहभागि भएका छन् । जाजरकोट, मुगु र दैलेखका सभासद्हरु धर्ना कार्यक्रममा सहभागि भएका छन् भने, अन्य बिद्यार्थी नेताहरुको सहभागिता पनि रहेको छ ।
भौगलिकरुपमा सुन्दर मध्यपश्चिमलाई तीन टुक्रा पार्न नहुँने भन्दै उनीहरुले समग्र मध्यपश्चिम एक प्रदेशको माग गरेका छन् । मध्यपश्चिम टुक्राउने नेताहरुको निर्णयप्रति असहमति जनाउँदै समग्र मध्यपश्चिम बनाउन उनीहरुले माग गरेका छन् ।
धर्ना कार्यक्रममा प्राध्यापक र कलाकारहरुको पनि सहभागिता रहेको छ । उनीहरुले सुन्दर संस्कृति भएको मध्यपश्चिमको मौलिकता सखाप नपार्न शिर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
मध्यपश्चिमलाई छुट्टै प्रदेश घोषणा गर्, मध्यपश्चिमका जनताको एकता भाँडन पाइदैँन, संविधान अविलम्ब घोषणा गर जस्ता मागहरु उनीहरुले गरिरहेका छन् ।