वीरगंज १८ भदौ । पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्रबहादुर अमात्यले मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरुको परिवार तथा घाइतेहरुलाई नगद सहयोग गर्ने घोषणा गर्नुभएको छ । सभासद अमात्यले आज वीरगंजमा आन्दोलनको क्रममा घाइते भई काठमाण्डौको वीर अस्पतालमा उपचार गराई रहेका अमिरीलाल पाल, पन्नालाल यादव, जाकिर हुसेन, उपेन्द्र यादव र प्रज्वलित तिवारीलाई अस्पतालमा गएर भेट गरि उपचारका लागि सहज तथा सहयोग पुगोस भन्ने उद्देश्यले संसदबाट आफुले पाउने भत्ता वापतको रकम सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । वहाले काठमाण्डौमा उपचारार्थ ५ जनालाई जनही २१ हजारको दरले सहयोग गर्नु भएको छ भने वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई जनही ११ हजारको दरले सहयोग उपलब्ध गराउनु भएको छ । वीरगंजमा रहेका घाइतेलाई अमात्यको तर्फबाट नेपाली कांगे्रस पर्साका सचिव अशोक जैसवाल, जिल्ला सदस्य दिना गुप्ता र नगर सभापति महम्मद सहाबुद्दिनले अस्पतालमै पुगेर विरामी तथा विरामीका आफन्तहरुलाई रकम उपलब्ध गराएका थिए । यसैगरी मृतकका परिवारलाई जनही ४१ हजारको दरले सहयोग आफै वा प्रतिनिधि मार्फत घरमै पुगेर उपलब्ध गराउने घोषणा गर्नु भएको छ । यसैबीच नाउक्षे अस्पतालमा घाइते रहेका पाचजनालाई सभासद अमात्यले गरेको सहयोग रकम मधेशवादी दलका नेताहरुले घाइतेसंग लिएर पर्साका प्रजिअलाई फिर्ता गरेका छन । सरकारमा रहेका दल र उस्लाई सहयोग गर्ने एमाओवादीसमेतबाट आन्दोलनमा घाइतेहरुले सहयोग नलिने बताउदै सहयोग रकम फिर्ता गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पर्सा संयोजक प्रदीप यादवले बताए । उनकै नेतृत्वमा गएको टोलिले रकम प्रजिअलाई फिर्ता गरेको थियो ।