काठमाडौं, २५ भदौ । प्रमुख तीन दलले जारी संविधान निर्माण प्रक्रिया दुई दिन रोक्ने निर्णय गरेका छन् । प्रादेशिक सीमांकनको विषयलाई लिएर आन्दोलनरत राजनीतिक दल लगायतका पक्षसँग गरिने वार्ताका लागि वातावरण बनाउन भन्दै प्रमुख तीन दलले जारी संविधान निर्माण प्रक्रिया आइतबार सम्मका लागि रोक्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बसेको संयुक्त बैठकले आन्दोलनरत पक्षको माग अनुसार वार्ताको वातावरण बनाउन भन्दै दुई दिनका लागि संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

संविधान निर्माण प्रक्रिया दुई दिन रोक्ने निर्णक्ष् गरेको बैठकले आन्दोलनरत दल तथा संघसंगठनहरुलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । यसअघि शुक्रबार बिहान बसेको प्रमुख तीन दलको बैठकमा एकीकृत माओवादीले एक साताका लागि संविधान निर्माण प्रक्रिया रोकेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक निष्कर्ष विहीन भएको थियो । केही समयपछि नै बालुवाटारमा ओलीसहित बसेको प्रमुख तीन दलको बैठकमा संविधानसभाको प्रक्रिया रोक्न नेताहरु सहमत भएका हुन् ।

यसैगरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा लगायतका आन्दोलनरत दल तथा संघसंगठनले तत्काल संविधानसभाको प्रक्रिया रोकेर वार्ताको वातावरण बनाउन माग गरेका थिए । उक्त निर्णय सँगै यही भदौ महिना भित्र संविधान जारी गर्न लक्ष्य प्रभावित हुने देखिएको छ ।