वीरगंज ३ कात्तिक । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीयता र सीमाङ्कनका बारेमा एमालेलगायतका दलले जनतालाई सही तबरले बुझाउन नसक्दा तराई मधेसमा शङ्का पैदा हुनु स्वाभाविक भएको बताउनुभएको छ । एमाले चन्द्रपुर नगर कमिटी तथा रौतहट–काठमाडौ सम्पर्क मञ्चले विजयादशमी, शुभदीपावली र छठ पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाले मधेसको निम्ति संविधानमा विशेष अधिकार समावेश भएकाले यसको विरोध गर्नुको औचित्य नरहेको स्पष्ट गर्नुभयो । वार्ता र छलफलको माध्यमबाटै मधेसमा जारी आन्दोलनको सम्बोधन हुने भन्दै उहाले अविलम्ब वार्ताका लागि स्पष्ट खाकासहित आउन आन्दोलनरत दललाई आग्रह गर्नुभयो । हालै जारी भएको संविधान विश्वकै उत्कृष्ट भएको चर्चा गर्दै उहाले संविधानमा सबैका हकअधिकारको सुनिश्चितता गरिएकाले हकअधिकार पाइन भन्नु व्यर्थ भएको पनि बताउनुभयो । उहाले भन्नुभयो–“अब आन्दोलन बन्द गर्नुपर्दछ, जनताले पर्वमा पनि निकै सास्ती पाएका छन्, आन्दोलनको नाममा मधेसवादी दलहरूले तमासा देखाउनु हुदैन ।” अहिले एमालेको काधमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएको धारणा राख्दै नेता नेपालले वर्तमान सरकारले इमान्दारी र जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सभासद् रामकुमार भट्टराईलगायत एमालेका अगुवा कार्यकर्ताको सहभागिता थियो ।