वीरगन्ज, १४ भदौ । मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको राजीघाट प्रहरी चौकीमा आगजनी गरेका छन् । घण्टाघर लगायतका बिभिन्न स्थानमा प्रदर्शनकारीले नाराबाजी, तोडफोड र आगजनी गरेका छन् ।

सोमबार दिउँसोबाट जारी गरिएको कर्फ्यू उल्लंघन गर्दै उनीहरु आग्जनी तथा तोडफोडमा उत्रिएका हुन ।यसअघि सोमबार दिउँसो बाइपास रोडस्थित नगवा चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले अपरान्ह चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । झडपले स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर समेत गरेको छ ।

झडपमा चार जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले प्रहार गरेको  ढुंगाले लागेर नेपाल प्रहरी र सशस्त्र गरि चार जना सुरक्षाकर्मी पनि घाइते भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए  । नगवास्थित बाइपास सडकमा दिउँसो भएको झडपमा प्रहरीले एक दर्जन भन्दा बढि हवाइ फायर, ४० राउण्ड भन्दा बढि रबरको गोली र तीन दर्जन भन्दा बढि अश्रु ग्याँस प्रहार गरेकाृे छ । प्रहरीले चलाएकाृ रबरको गोली लागेर कृष्ण पटेल , अनवर हवारी, इरफान अन्सारी, मुन्ना यादव, सुनिल साह र रामजी तुराहा घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये कष्ण र मुन्नाको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नगवा, नयाँबस पार्क लिंकरोड र घण्टाघर चोकमा अहिले पनि प्रहरी र प्रदर्शनकारी र प्रहरी बच झडप जारी रहेको छ । झडपका कारण तनावग्रस्त बनेको स्थितीलाइ नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ घिमिरेले  बताए ।

उता बारा सदरमुकाम कलैयामा पनि मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन चर्काएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।