वीरगंज,१६ कात्तिक ÷ प्रहरीले बल प्रयोग गरेर नाका खुलाएको विरोधमा सोमबार वीरगञ्जमा आन्दोलनकारीले प्रदर्शन चर्काएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा सोमबार दिउँसो शंकराचार्य गेटमा एक आन्दोलनकारीको मृत्यु भएको र ठाउँठाउँमा प्रदर्शन चर्किएपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाएको छ।  वीरगञ्जका बिभिन्न ठाउँमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध बिभिन्न दलका नेता कार्यकर्ताले वीरगञ्जको घण्टाघर,माइस्थान, श्रीपुर, नबवा लगायतका ठाउँमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास र हवाइ फायर गरेको छ। दिउँसोदेखि प्रदर्शन नियन्त्रण बाहिर जान लागेपछि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आन्दोलनरत मधेशी मोर्चाले आफ्नो आन्दोलनलाई मुख्य गरी वीरगञ्ज क्षेत्र र रक्सौल नाका केन्द्रित गरेका छन्। प्रहरीले आज बिहान सबेरै प्रदर्शनकारीलाई हटाएर वीरगञ्जमा रोकिएका भारतीय गाडीलाई भारततर्फ पठाएपछि आन्दोलनकारी उत्तेजित भएका हुन्।