वीरगंज,४ माघ  । प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगंजमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगंज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।सङ्घर्ष समिति बनाएर विगत २ हप्तादेखि वीरगंजको घण्टाघरमा अनसन बस्दै आएका प्रदर्शनकारीले सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेपछि बिहीबार पर्सा जिल्ला बन्द आह्वान गरेका थिए । प्रदर्शनकारीले बिहानैदेखि वीरगञ्जको घण्टाघरमा टायर बालेर सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्णय तत्काल फिर्ता लिएर वीरगंजलाई राजधानी घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।ईवटा गाडीमा समेत तोडफोड गरेका छन् ।

वीरगंजको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

त्यस्तै प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा कलैया वीरगन्ज सडक खण्डको प्रर्सौनीमा बन्द गरेको छ । प्रर्सौनीमा बिहान आठ बजेदेखि १० बजे सम्म दुईघण्टा बजार समेत बन्द गरेको छ । त्यस्तै गण्डक पथलैया सडकखण्डको चैनपुरमा पनि प्रदर्शन गरेको छ । सुनिल पटेलको नेतृत्वमा बिहान आठ बजेदेखि बन्द गरिएको वीरगंज संघर्ष समितिका सदस्य लोकेश सिहंले जानकारी दिए ।

यसैबिच संघीय समाजवादी फोरमले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि आजको बन्दको पक्षमा फोरम नेपाल नरहेको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए ।