वीरगंज, ५ पुस । वीरगञ्ज महानगरपालिका– १८ स्थित भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । उद्योगमा बिहान सवा ७ बजेतिर आगलागी भएको र आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र पनि जलेको र फायर म्यान संजिव नेपाल सख्त घाइते भएको इन्चार्ज कार्कीले बताए । नेपालको उपचार गण्डक अस्पतालमा संभव नभएपछि हेलिकप्टरबाट काठमाण्डौ लगिदैछ । बारुणयन्त्रमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी सम्पर्क्विहीन छन् । आगलागिमा उद्योगका अमिका पटेलसमेत २ जना घाइते छन । आगलागी अहिले पनि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले वीरगंज र कलैयाबाट आगो निभाउन पुगेका थप बारुणयन्त्रसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा केहि परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन । थप दुर्घटनाबाट जोगाउनका लागि प्रहरीले आसपासका वस्ती खालि गराएको छ ।