बिरगंज जेष्ठ २२

विवेकशील साझा पार्टीको पर्साको सम्पूर्ण टिम नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो । नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नवआगन्तुकहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो । पार्टी प्रवेशमा नेकपाका युवा नेता रहबर अन्सारीले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफूलाई विवेकशीलमा आउन आग्रह गरेको बताउनुभयो । पार्टी प्रवेश गर्दै विवेकशीलका नेता पाण्डेले आफू बैकल्पिक शक्ति निर्माणका लागि विवेकशीलमा लागेको र नेपालमा नेकपाबाहेक कुनै पनि शक्तिले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने भएकाले आफू नेकपामा आएको बताउनुभयो ।