काठमाडौं, असार २७ / सरकारले विदेशमा प्रत्यक्ष दर्ता प्रणालीमार्फत मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गर्ने भएको छ । धेरै चाप हुने आठ देशमा करिब तीन महिनामा यो प्रणाली लागू हुँदै छ ।

अमेरिका, बेलायत, मलेसिया, युएई, कतार, कुवेत, साउदी अरब र हङकङमा प्रत्यक्ष दर्ता प्रणाली लागू हुन लागेको छ । एमआरपी छाप्ने सम्झौता भएको ओबर्थर कम्पनीलाई थप २५ लाख राहदानीसहित सो प्रणाली स्थापनाको जिम्मा पनि दिइएको छ ।

‘कम्पनीले तीन महिनामा उक्त प्रणाली राख्ने बताएको छ,’ विभागका सूचना अधिकृत शरणराज आरनले भने, ‘अब चाँडै सम्झौतामा हस्ताक्षर हुन्छ । त्यसपछि प्रक्रिया सुरु भइहाल्छ ।’

प्रत्यक्ष दर्ता प्रणाली लागू भएपछि फोटो खिच्ने, फारम भर्नेलगायतको लामो प्रक्रिया र झन्झटबाट सेवाग्राही मुक्त हुनेछन् ।