वीरगंज पुस २२।  प्रदेश नं २ को राजधानी वीरगंजलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आज दोस्रो दिन पनि रिले अनशनलाई निरन्तरता दिएको छ । पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताको नेतृत्वमा महिला नेतृ दुर्गा क्षेत्री, रेखा साह, रानी देवी श्रीवास्तव नेपाली काँग्रेसका युवा नेता सुधिर पटेल, युवा नेताहरु यशवन्त यादव, संजिव मिश्रा, तेजप्रकास निसाद, बद्रीनारायण तिवारी, अकलेश साह गरी १० जना अनसनमा बस्नुभएको छ । अनशनमा बसेका नेताहरुलाई वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं बिद्यायक ओमप्रकाश शर्मा, वडा नं. २७ का वडा अध्यक्ष प्रदिप यादव र एमालेका नेता शम्भु गुप्ताले फुलमाला र खादा ओढाई स्वागत गर्नुभएको छ । वीरगंजलाई प्रादेशिक राजधानी घोषणा नगरे सम्म आन्दोलनका कार्यक्रम जारी रहने पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले जानकारी दिनुभयो । वीरगंज राजधानीको लागि सवै दृष्टिकोणले उत्कृष्ट रहेकोले वीरगंजको बिकल्प नखोज्न चेतावनी समेत दिनुभयो । रिले अनशनको पहिलो दिन हिजो पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, युवा नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका थिए । हिजो देखि शुरु भएको अन्सनलाई वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत गरेका थिए ।
यसैबिच वीरगंजलाई राजधानी बनाउन गठित संर्घष समितीले आज वीरगंज घण्टाघरमा आधा घण्टा चक्का जाम गरेको छ । बिभिन्न नारा सहित नेता कार्यकर्ताहरुले चक्का जाम गरेका थिए । साथै संर्घष समितीले आजै देखि घण्टाघरमा हस्ताक्षर अभियान पनि संचालन गरिरहेको छ ।
यसैबिच जारी अनशनमा प्लास्टिक व्यवसायि संघ पर्साले पनि एक्यवद्धता जनाएको छ । संघका पर्सा अध्यक्ष कुवेर प्रसाद गुप्ता सहितको टोलीले जारी अनशन प्रति एक्यवद्धता जनाउदै सर्मथन जनाएको हो ।े ।