वीरगंज,७ भदौ ।नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा आजबाट राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले आफ्नो माग पूरा नभएसम्मका लागि तराई–मधेसका २२ जिल्लामा अनिश्चितकालीन बन्द हडताल गर्ने निर्णय सार्वजनिक गरेको छ ।  तराई–मधेसका २२ वटा जिल्ला बन्द तथा हडताल गर्नका लागि संविधानसभा भित्र र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलबीच अहिले होडबाजी चलेको छ ।

तराई–मधेस १० दिनदेखि निरन्तर बन्द हडतालको चपेटामा पर्दै आएको छ । रामसपासहित तराई–मधेसको एउटै भूगोलमा बन्द हडतालको घोषणा गर्ने पार्टी र संस्था मात्रै एक दर्जन पुगेका छन । रामसपाले उदयपुर, सिन्धुली र मकवानपुरसहित चुरे क्षेत्र तराई–मधेसको प्रदेशमा राख्नुपर्ने मागसहित अनिश्चितकालीन तराई–मधेस बन्द घोषणा गरेको पार्टीका महासचिव रामचन्द्र चतुर्वेदीले बताउनु भयो ।

महासचिव चतुर्वेदीले  १६ बुंदे सहमतिदेखि नै संविधान बनोस् भनेर आलोचनात्मक समर्थन जनाउंदै आएका थियौं तर पछिल्लोपटक प्रदेश सीमांकन गर्दा थप अन्याय गरियो त्यसैले आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो । रामसपाका जिल्ला अध्यक्ष प्रेम बाबु पटेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एवं युवा नेता राजेश मान सिंह, महाविर शर्मा, युवा लिगका केन्द्रिय अध्यक्ष प्रदीप चौरसिया, संगठन  विभाग प्रमुख प्रदीप सिंह ठकुरी, महिला नेतृ गिता देवी लामा, चम्पादेवी लगायतको सहभागिता रहेको थियो ।