वीरगन्ज२५ पुस भारतीय दुई युवकको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । पर्साको बिजबनिया गाविस ७ गढैयास्थित आफन्तको घरमा लुकेर बसेका बाराको महागढीमाई नगरपालिका ८ सेमरा तेगछियाका बृजकिशोर गिरीलाई प्रहरीले आइतबार साँझ गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । गिरीको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।

उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय पर्सा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी निरीक्षक मन्जिल मुकारुङको नेतृत्वमा खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो ।

बिजबनिया गाविस ७ स्थित ससुरालीबाट नाता पर्ने अजय गिरीको घरमा लुकेर बसेका गिरीलाई पक्राउ गरिएको हो । गिरीलाई पक्राउ गर्न पुगेको टोलीलाई स्थानीयले घेरा हालेर ढुंगामुढा गर्न थालेपछि प्रहरीले ६ राउन्ड गोली चलाएको र त्यसमध्ये एउटा गोली गिरीको खुट्टामा लागेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।पुस ९ मा पहिले नेपालबाट फोन आएको छ भन्दै परिवारका सदस्यलाई जानकारी गराएर भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा घरबाट हिँडेका दीपक र अरुणको शव पुस १३ मा बारा हरैयाको जंगलमा भेटिएको थियो ।

घटनास्थलबाट प्रहरीले एक थान छुरा पनि बरामद गरेको थियो । पुस १३ मा बाराको जंगलमा मृत अवस्थामा भेटिएका भारतीय युवक दीपक र अरुणको हत्यामा संलग्न रहेको आरोपमा बृजकिशोरलाई आइतबार साँझ पर्साको बिजबनिया गाविसको गढैयाबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

यसैबीच समाचार संकलनका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बेलुका पुगेका सञ्चारकर्मीलाई बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले दुव्र्यवहार गरेका छन् । अस्पतालमा उपचार गराइरहेका घाइते बृजकिशोर गिरीको तस्बिर खिच्ने क्रममा प्रहरी उपरीक्षक उप्रेतीले सञ्चारकर्मीसँग दुर्व्यवहार गरेका हुन् ।

उप्रेतीले सञ्चारकर्मीको क्यामेरा र मोबाइल खोसेर फोटो मेटाएका थिए ।