वीरगंज, २५ भदौ । म्यानमारका रोहिंग्या मुस्लिम बिद्रोहीले एक महिनाका लागि युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारवाहीका कारण उत्पन्न भएको मानवीय संकटको अवस्थाबाट बाहिर निस्कनका लागि रोहिंग्या बिद्रोही समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको छ । युद्धविराम आजदेखि लागु हुनेछ । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान चलाउँदै आएको छ । द्वन्द्वका कारण पछिल्लो दुई हप्तामा मात्रै राखिनेबाट दुई लाख ९० हजार भन्दा बढी रोहिंग्या मुसलमान बंगलादेश शरण लिन पुगेका छन् । धेरैजसो रोहिंग्या मुसलमान बंगलादेशको कक्स बजार पुगेका छन् । संयुक्त राष्ट्रसंघले युद्धका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो रहेको बताएको छ ।