वीरगंज, १७ भदौ । मुस्लिम समुदायले आज इद पर्व मनाउँदैछन् । आजदेखि ३ दिनसम्म मनाइने इदलाई इद उ जोहा अर्थात ईल उद अधा अनि बकरइद र कुर्बानी पनि भन्ने गरिएको छ । मुसलमान समुदायले हिजारी सम्वत् अनुसार यो बकर ईद मनाउछन । हिजारी महिनाको १० औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा भोलि आइतवार सार्वजनिक बिदासमेत दिएको छ । इद मनाउँदा बिहानै उठेर नुहाइधुवाइ शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यो पर्वमा खसी भेडा लगायत जनावरको बली दिने गरिन्छ । बली दिएको पशुको मासु तीन भाग लगाएर एक भाग दीनदुखीका लागि मस्जिदमा र बली दिन नसक्नेलाई, एक भाग आफन्तलाई दिइन्छ भने एक भाग आफूले प्रसादका रुपमा खाने चलन छ । भोलि आइतबार र पर्सी सोमबार पनि बली तथा प्रार्थना हुन्छ ।