वीरगंज २३ पुस ।महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बन्नु भएको छ लायन मिनाक्षी गुप्ता । विगत २६ वर्ष अगाडी लिटिल एन्जल स्कूल वीरगंजमा रु। ३ सय तलबमा महिला शिक्षिकाको रुपमा शिक्षण पेशामा लाग्नु भएकी गुप्ताले अहिले वीरगंजमा सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र र महिला सशक्तिकरणको आन्दोलनलाई एकसाथ अगाडी बढाएर आफ्नो छुटै पहिचान बनाउनु भएको छ ।
महिलाले केही गर्नु पर्छ भन्ने भावनाले अभिप्रेरित गुप्ताले अहिले आफ्नै लगानीमा जीवन ज्योति स्कूल संचालन गर्नु भएको छ । शिक्षिकाको रुपमा कार्यरत रहेको अवस्थामै अचानक स्टोभ पडकेर आगो लागी गम्भिर घाइते भएकी गुप्ता पारिवारिक सहयोगका कारण लामो उपचार पछि पुर्नजिवन पाउनु भएको थियो । उहाँको जीवन विगतमा पनि शिक्षा र समाज सेवामा समर्पित थियो भने अहिले पनि शिक्षा, समाजसेवा र महिला सशक्तिकरणको आन्दोलनलाई उच्च बनाउन  केन्द्रित रहेको छ ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा आवद्ध भई लामो समय देखि महिला सशक्तिकरणको आन्दोलनमा होमिनु भएकी गुप्ता हाल लायन्स क्लबको एम्बेष्डर अफ गभर्नर हुनुहुन्छ । विगतमा आगलागीको घटनाले असक्त बन्नु भएकी गुप्ता पारिवारिक सहयोग र अटुट साहसका कारण समाजमा केही गर्नु पर्छ भन्दै आफैले विद्यालय खोल्न पुग्नु भएको थियो ।
गुप्ताको समाज सेवा प्रतिको भावना महिला सशक्तिकरणको आन्दोलनमा पुर्‍याएको योगदान लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत लायन्स क्लबले शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच वहाँलाई कदर पत्र सहित सम्मान समेत गरेको छ  ।
मिनाक्षी गुप्ता जस्ता महिलाहरुबाटै समाज परिवर्तन हुन सक्दछ भन्ने उदाहरण उहाँले देखाउनु भएको छ । पारिवारिक सहयोग, समाजका विभिन्न वर्गका व्यक्तिहरुको प्रेरणाका कारण आज आफु महिला आन्दोलनलाई अगाडी बढाउन सफल भएको र घटना दुर्घटनामा परेकाहरुलाई पनि निराश भएर बस्ने होईन साहसीक बनेर केही गर्नु पर्छ भन्ने कुरा देखाउन आफू सदैब क्रियाशिल रहेको गुप्ताले बताउनु भयो ।
मिनाक्षी गुप्ता जस्ता साहसी महिलालाई समाजले थप आत्मबल र साहस प्रदान गरि समाज सेवा र महिला सशक्तिकरणको क्षेत्रमा अगाडी बढाउने हो भने हाम्रो समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्न सकिने जानकारहरु बताउँछन ।