काठमाडौं,२० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई लिएर व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । कांग्रेसका तराई मधेसका सांसदहरुले कात्तिक २२ गते संसदको बैठक अवरुद्ध पार्न पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस केन्द्रिय कार्य समितिले संशोधन विधेयक पारित गराउन दबावमूलक भूमिका खेल्ने निर्णय गरिसकेको छ । कांग्रेस सचेतक ईश्वरी न्यौपानेले संविधान संशोधन विधेयक हाम्रो पार्टीको प्राथमिकताको विषय भएकोले हामी संसदीय पद्दतिभित्र रहेर अघि बढ्ने बताउनु भयो । कांग्रेसका सांसदहरुले मधेसको समस्या समाधान गर्न केपी ओली सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । उनीहरुले सरकारको वार्ता प्रयासलाई नाटकको संज्ञा समेत दिएका छन् ।

 कांग्रेस सांसद राजेन्द्र बहादुर अमात्यका अनुसार कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले अन्तिम समयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । त्यसमा समानुपातिक समावेशी र हाल कायम जिल्लामा निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ । तर, केपी ओली सरकारले भने विधेयक अघि नबढाएकोले तराई मधेसका २१ सांसदले २२ गतेकै बैठकमा संसद अवरुद्ध पार्ने तयारी गरेका छन् । पार्टीले पनि संविधान संशोधन विधेयकलाई जोड दिएकाले यो पार्टीकै कार्यक्रम हुने उनले बताए ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरु डा. अमरेशकुमार सिंह, अमियकुमार यादव, डा. चन्द्रमोहन यादव, राजेन्द्र बहादुर अमात्य, सीतादेवी यादव, सीताराम महतो, रामअयोध्याप्रसाद यादव, तेजुलाल चौधरी, प्रेमकिशोर प्रसाद साह सुरेन्द्र प्रसाद यादव, मोख्तार अहमद, राधेचन्द्र यादव, रामकृष्ण यादव, पुष्कर आचार्य, सीताराम भण्डारी, डा. गणेश मण्डल सहित २१ जना सांसदले पार्टी सभापति कोइरालालाई संसद अबरुद्ध पार्न अनुमति मागेका छन् ।