रौतहट, १७ असोज – एकीकृत नेकपा (माओवादी) का प्रभावशाली नेता एवम् पूर्वमन्त्री प्रभु साहले तराई मधेसको मागलाई सरकारले बेवास्ता गरेका कारण मुलुकका जनताले दुःख पाइरहेको बताउनुभएको छ । मधेस आन्दोलन सङ्घर्ष समिति रौतहटद्वारा आज गरुडामा आयोजित जनसभामा सभासद्समेत रहनुभएका साहले तराई मधेसको मागलाई सरकारले बेवास्ता गरेकाले ५० दिनदेखि जारी आन्दोलन थप कडा बनाउने बताउनुभयो ।

उहाँले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने भन्दै झापा जिल्लादेखि कञ्चनपुरसम्म एक अथवा दुई प्रदेश बनाउन सकिने भन्दै राज्यका सबै निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री महेन्द्र पासवान, एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामकुमार शर्मालगायतका वक्ताले बोल्नुभएको थियो ।

.