बीरगंज, ५ साउन÷ संविधान मस्यौदाको विरोधमा उत्रिएको संयुक्त मधेशी मोर्चाको आव्हानमा आज गरिएको मधेश बन्दले बीरगंजको जनजीवन पनि प्रभावित बनेको छ । मस्यौदामाथि आमजनताको रायसुझाव, सल्लाह लिने काममा हिजो पर्साको पाचवटै क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको विरोधमा आज गरिएको बन्दले जनजीवन प्रभावित भएको छ ।

सरकारले मस्यौदामा आममानिसको रायसुझाव लिनका लागि हिजो र आज सार्वजनिक विदा दिएकोमा पर्सामा हिजो एकैदिन रायसुझाव लिन धौ–धौ भएपछि आज सो कार्य गरिएन । प्रहरी दमनको विरोधमा आज बिहान पावरहाउसदेखी मोर्चाले रैली निकालेर पसल बन्द गराउदै घण्टाघरमा प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा राजधानीबाट प्रकाशित पत्रिकाहरुमा मधेशमा मस्यौदाको विरोधमा भएको प्रहरी दमन र प्रदर्शनका समाचारहरु प्रकाशित नभएको भनेर जलाइएको थियो । कान्तिपुर, नागरिक, अन्नपुर्णापोष्ट पत्रिकाको प्रति जलाइएको थियो । मोर्चाको बन्दका कारण सरकारी विदाले प्रभावित बीरगंज बजार पुर्ण रुपमा प्रभावित रहयो । रिक्सा, मोटरसाइकल, साइकलजस्ता निजी सवारीका साधनहरु संचालन भएपनि बजार बन्दिका कारण मानिसहरुको चहलपहल न्युन भएको छ । लामो तथा सानो दुरीका सवारीका साधनहरु संचालनमा आएनन ।

                आजको बन्दमा आफनो पनि समर्थन रहेको जनाउदै हिन्दुस्वयम सेवक संघले हिन्दुराष्ट्रको माग गर्दै बीरगंजमा हिजो र आज प्रदर्शन गरेको छ ।