वीरगंज २९ भदौ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि भोलि भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।