काठमाडौं, २३ भदौ । भारतका लागि साउदी अरेबियाको दूताबासभित्र बन्धक बनाएर नेपाली महिलामाथि बलात्कार भएको खुलासा भएको छ । दूतावासले लिएको एक फ्ल्याटमा बन्धक बनाई दुई नेपाली महिलाको बलात्कार हुँदै आएको र मंगलबार राति उनीहरुको उद्दार गरिएको दी हिन्दु डटकमले जनाएको छ । यौन हिंसामा पर्नेमा २० वर्षीया युवती र उनकी ४० वर्षीया आमा रहेका छन्।

साउदीका नाम नखुलाइएका अधिकारी र उनका केही साथीहरुले दूतावासले भाडामा लिएको फ्ल्याटमा नेपाली युवतीमाथि बलात्कार गर्दै आएको पीडितहरुले बयान दिएका छन्। साउदी डिप्लोम्याटका पाहुनाका अगाडि उनीहरुलाई अप्राकृतिक यौनकार्य गर्न लगाइएको दी हिन्दुले उल्लेख गरेको छ ।

उनीहरुलाई दिनभरि घरेलु काममा लगाउँने राति यौन दुर्व्यवहार हुने गरेको बताइएको छ । प्रहरीले नाम नखुलेका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । सामूहिक बलात्कारको अभियोगमा उनीहरुविरुद्ध भारतीय कानुनअनुसार मुद्दा दायर भएको बताइए पनि हालसम्म कसैलाई पनि गिरफ्तार गर्न भने प्रहरीले सकेको छैन ।

यसैबीच सो घटनाको साउदी अरेवियाको दूतावासले भने खण्डन गरेको छ। व्यक्तिगत लान्छना लगाउने प्रयास भएकोसमेत दूतावासले दावी गरेको छ।

एजेन्सीको सहयोगमा