एजेन्सी फागुन १३ – बंगलादेशमा चलिरहेको एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति ढाकामा भएको खेलाको भारतले आयोजक बंगलादेशलाई ४५ रनले हरायो । भारतले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेल्दै सात विकेट गुमाएर एक सय २१ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सब्बिर रहमानले ४४, मुसाफिकर रहिमले नटआउट १६, तस्किन अहमदले नटआउट १५ तथा इमरुल कायसले १४ रन बनाए । भारतका आषिश नेहराले तीन तथा जसप्रित बुमराह, हार्दिक पाण्डेय र रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६६ रन बनायो । भारतका रोहित शर्माले ५५ बलमा सात चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए । यस्तै हार्दिक पाण्डेयले १८ बलमा ३१ तथा युवराज सिंहले १६ बलमा १५ रन बनाए । बंगलादेशका अल अमिन होसैनले तीन विकेट लिए । एसियन क्रिकेट परिषद एसिसीको आयोजनामा सुरु प्रतियोगितमा आयोजक बंगलादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र संयुक्त अरब इमिरेट्स युएई सहभागी छन् ।