काठमाडौं,५ पुस । रसुवाको केरुङ नाकाबाट राजस्व छलि गरेर नेपाल आउँदै गरेको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । लाखौं रुपैयाँ छलि गरेको नेपाल आउँदै गरेको ना २ ख ५३५८ नम्बरको कन्टेनर जिल्ला प्रहरी कार्यालय रसुवाले नियन्त्रणमा लिएको हो ।

कन्टेनरमा एक करोडभन्दा बढीका रेडिमेड सामान छन् । टिमुरमा रहेको भन्सार कार्यालयको मिलेमतोमा कन्टेनर छुटाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । बढी सामानका मूल्यलाई कम मूल्य बनाई राजस्व कम तिरेर ल्याउने क्रममा सो कन्टेटर प्रहरी फन्दामा परेको हो ।

टिमुरबाट कन्टेनर एक्कासी रोड छाडेर भित्रि सडक कालिकास्थान बरुवामा पुगेपछि प्रहरीलाई शंका लागेर नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा चालकले राजस्वको टोली बट्टारमा चेकजाँचमा आएको र कन्टेनर मालिकले सडकबाट दायाँबायाँ लुक्न भनेपछि भित्रि सडकमा कन्टेनर लुकाएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय रसुवाले सो कन्टेनर राजस्व विभाग हरिहरभवन पुल्चोकमा बुझाएको डिएसपी अवदेश विष्टले  बताए । ब्यापारी र कन्टेनर मालिकको मिलेमतोमा सो नाकाबाट तस्करी बढ्न थालेको छ ।  सो सगै प्रहरीले निगरानी बढाएको डिएसपी विष्टले बताए ।