काठमाडौं, २३ साउन । विवादित घरमा पार्टी मुख्यालय सरेपछि नेकपा एमालेकी उपाध्यक्ष बिद्यादेवी भण्डारीले चर्काे असन्तुष्टी जनाएकी छिन् । करोडौँ राजश्व छलीको आरोप लागेका यति एयरलाइनसका मालिक आङ छिरिङ शेर्पाको धुम्वाराही स्थित घरमा एमाले मुख्यालय सरेको छ ।राज्यको नजरमा दोषी देखिएका ब्यक्तिको घरमा पार्टी कार्यालय राख्न नहुने तर्क गर्दे आएकी उपाध्यक्ष भण्डारीले उद्घाटन कार्यक्रम समेत बहिष्कार गरेकी छिन् । अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल उद्घाटन कार्यक्रममा सहभागि भएपनि उपाध्यक्ष भण्डारी भने उपस्थित भइनन् । शनिवारदेखि एमाले केन्द्रीय कार्यालय धुम्वाराही स्थित पासाङ ल्हामु पर्वतारोहणमा सरेको छ ।

कृपासुर शेर्पाको मन्त्री पदसँग पार्टी केन्द्रीय कार्यालय अस्थायीरुपमा साटेपछि उनी रुष्ट बनेकी हुन् । अध्यक्ष ओली आङ छिरिङ र कृपासुर इसारामा चल्न थालेका छन् । विवादित र भ्रष्ट छवि भएका ब्यक्तिलाई ओलीले साथ दिन थालेपछि उपाध्यक्ष भण्डारी रुष्ट बनेकी हुन् । भण्डारी पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुबाटै सञ्चालन गर्नुपर्ने पक्षमा थिइन ।

नयाँ कार्यालय सरेसंगै नेकपा(एमाले)मा नयाँ धु्रबीकरणको छनक देखिएको छ । सुरु देखि नै धुम्वाराहीमा पार्टी कार्यालय स्थानान्तरणको बिपक्षमा रहेकी उपाध्यक्ष भण्डारी पार्टी कार्यालय सार्ने अध्यक्ष ओलीको निर्णबाट असन्तुष्ट छिन् । पार्टी नवौ महाधिबेशनमा नै अघोषित रुपमा कार्यएकता गरेका उपाध्यक्ष भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच अझै हीमचीम बढेपछि उपाध्यक्ष बिद्या भण्डारी असन्तुष्ट बन्दै आएकी छिन् । पार्टी महासचिव भएपछि ईश्वर पोखरेललाई बाध्य भएर च्याप्नु पर्ने स्थितिमा पुगेका अध्यक्ष केपी शर्मा ओलीसंग समेत उपाध्यक्ष भण्डारीको दूरी बढ्न थालेको छ । पार्टी कामका लागि पनि महासचिव पोखरेललाई बाध्यताले नजिक राख्नु पर्ने भएपछि ओलीकै गुटमा अरु नेताहरु भित्रभित्रै रुष्ट छन् ।

बिगतमा झलनाथ खनाललाई झै जुनसुकै बेला पनि धोका दिने कारण पोखरेललाई धेरै नजिक राख्न नहुने भण्डारीको तर्क रहेको उनी निकट नेताहरु बताउछन् । तर पार्टी कार्यालय स्थानान्तरण देखि अन्य काममा पनि पोखरेल हावी भएपछि भण्डारीले ओली समक्ष मौखिक असहमति राखेकी थिईन । तर यस वारे केही नवोेल्न ओलीले भनेपछि ओलीका बिश्वासपात्र कृपासुर शेर्पालाई नै कार्वाही गर्नुपर्ने माग विद्याले राखिन् । सार्वजनिक रुपमा नै शेर्पाप्रति कार्वाहीको माग राख्नुको कारण पोखरेल र शेर्पाको हीमचीमलाई मानिएको छ । पासाङ ल्हामु प्रतिष्ठानको नाममा रहेको भवनमा नयाँ कार्यालय सञ्चालन गर्न तारतम्य मिलाउन पोखरेल र शेर्पा लागेका कारण पनि भण्डारी थप रिसाउने बातावरण तयार भएको हो । त्यसोत नेकपा(एमाले)को दशौ महाधिबेशनमा उपाध्यक्ष भीम रावल र महासचि ईश्वर पोखरेलले एकता गरेर जाने सहमति गरेको खुलासा भएपछि पनि एमालेमा नयाँ तरगं आएको हो । रावल र पोखरेलका कार्याकर्ताहरु पनि सोही प्रकृतिका लविङ गर्न थालेका छन् । त्यसोत युवा संघको बिवाद मिलाउने सन्दर्भमा पनि भण्डारी र पोखरेल बीच मन एकता भएको छैन ।