क्वेटा, पाकिस्तान (एजेन्सी) पाकिस्तानको बलुचिस्तान प्रान्तमा दुईवटा बसमा केहि बन्दुकधारीहरूले आक्रमण गरि कम्तिमा १९ जना यात्रुको हत्या गरेका छन्।उक्त घटना शनिबार विहान राजधानी क्वेटाको दक्षिण स्थित मस्तंग सहरको नजिकै भएको थियो। बलुचिस्तानका गृहमन्त्री सरफराज बगतीले घटनाको जानकारी दिँदै शुक्रबार साँझ कराची तर्फ प्रस्थान गरेको उक्त बसहरूमा ती अज्ञात बन्दुकधारीले यात्रा गरेको बताए। आक्रमणकारीहरूले सेनाको वर्दी लगाएको बुगतीले रोयटर्सलाई जानकारी दिए।

बन्दुकधारीहरूले यात्रीहरूलाई बसबाट ओराल्दै गोली हानी हत्या गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षा बल तत्काल घटनास्थल तर्फ पठाइएको र कम्तिमा पाँचजनालाई बचाएको अधिकारीहरूले बताए। आक्रमणकारी र सुरक्षाबल विच मुठभेड जारी रहेको उनीहरूले बताए। आक्रमणमा मारिउका अधिकांश पख्तुन भएको र उनीहरू उत्तरी बेलुचिस्तानका भएको एक स्थानिय अधिकारीले बताए।बेलुचिस्तानमा पृथक्तावादी र सुरक्षाबल बिच लामो समय देखि हिँसात्मक संघर्ष चलिरहेको छ।