वीरगंज २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर २ को चुनाव नसर्ने बताएका छन् । यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनाइ छ । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । तर, संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनले बताए । राजपालाई निर्वाचनमा ल्याउन कुराकानी भइरहेको उनले बताए । राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास हुने तर, नआएपछि असोज २ को चुनाव नरोकिने उनले बताए । देउवाले असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी समेत गरे ।