वीरगंज श्रावण १४

पर्साको धोबिनी गाउँपालिका कार्यपालिका सदस्यहरु गाँउपालिका प्रमुख र प्रशासकिय अधिकृत प्रति असन्तुष्ट देखिएका छन । वीरगञ्जमा आज पत्रकार सम्मेलनकै आयोजना गरेर गाउँपालिकाको १० जना कार्यपालिका सदस्यहरुले गाउँपालिका प्रमुख सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीको गतिविधिका बारेमा असन्तुष्टी जनाएका हुन ।१३ जना कार्यपालिका सदस्य रहेको गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मी सहित १० सदस्यले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अरुलाई वाईपास गरेर मनोमानी गरिरहेको आरोप लगाए । गाउँपालिकामा अनियमितता भएको दावी गर्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति पर्सा र प्रदेश सरकारलाई छानवीनको माग गर्दै उजुरी समेत दिईसकेको बताएका छन् ।  तर गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मीले भने गाउँपालिकामा बोर्ड बैठकबाट भएको निर्णय अनुसार नै बजेट खर्च भएको बताएका छन् । उनले कार्यपालिका सदस्यहरुलाई सबै कुराको जानकारी रहेको दावी समेत गरे ।