काठमाडौ, ३ भदौ । गुन्डा नाइके कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएका छन् । राजधानीको सामाखुसीमा प्रहरीसँग दोहोरो भिडन्त भएपछि घैंटे घाइते भएका थिए । घाइते घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमै शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको छ । उनको छातिमा ८ गोली लागेको अस्पतालले जनाएको छ । घैटेको घटनास्थलमै मृत्यु भएपनि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । प्रहरीको गोलीबाट राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ ।
सामाखुसीको कपुरधारामा साढे ११ बजे अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरीको टोलीमाथि घैटेले पहिले आक्रमण गरेका प्रहरीले जनाएको छ । जवाफी कारवाही गर्दा उनी तत्काल घाइते भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाले बताए । गुन्डा नाइके घैंटेको गोलीबाट दुई प्रहरी असई पनि घाइते भएका छन् ।00
रमेश खरेल काठमाडौ प्रहरी प्रमुख हुँदा अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेका थिए । प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका घैटे आज प्रहरीको गोलीबाट मारिएका छन् ।

09

को हुन् घैटे

नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका छन्।

नेपाली काँग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका गणेश लामा, चक्रे मिलनसँग दुश्मनी रहेका घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो।
प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।
मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए।