काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । कोइरालाको उम्मेदवारी दर्तामा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक र उपसभापति रामचन्द्र पौडेलको समर्थन रहेको छ ।

यसअघि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थक र राप्रपा नेपालका अध्यक्ष कमल थापाको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

व्यवस्थापिका संसद सचिवालयका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने छ । निर्वाचन कार्यक्रम अनुसार शनिवार अपराहृन ४ः ३० बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार विहान ११ बजेको बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

प्रधानमन्त्री चयनका लागि आइतबार विहान ११ बजे संसदमा मतदान हुनेछ । आइतबार बिहान बस्ने व्यवस्थापिका–संसदको बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई प्रस्तुत गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

सहमतीय सरकारका लागि एक साताको दिइएको समय बिहीबार दलहरुले गुजारेपछि फेरि राष्ट्रपति डा. रामबरणले बहुमतीय प्रक्रियाबाट नयाँ सरकार चयन प्रक्रिया सुरु गर्न आह्वान गरेपछि शनिबार मनोनय र आइतबार मतदानको कार्यतालिका संसदले तय गरेको हो ।

अहिले संसदमा पाँच सय ९८ जना सांसद रहेकाले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुनका लागि दुई सय ९९ जना सांसदको समर्थन चाहिन्छ ।

– See more at: http://medianp.com/2015/10/70044.html#sthash.SbbOuMmB.dpuf