काठमाडौं, ६ असोज । संयुक्त राष्ट्र संघको ७० औं महासभामा भाग लिन प्रधानमन्त्री सुशील कोइराला मुलुकको जटिल राजनीतिक परिस्थितिका कारण जान नपाउने भएपछि उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह त्यस तर्फ जाने भएका छन् ।

प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण रद्द भएपछि त्यस तर्फ जाने सिंहको नेतृत्वको टोलीमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित १८ जना रहने बताइएको छ ।

नेपालको प्रतिनिधिमण्डल अपराह्न साढे चार बजे काठमाडौंबाट न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको भएपनि प्रधानमन्त्रीको नाममा टिकट समेत तयार भैसकेकाबेला एक्कासी रद्ध भएकाले उपप्रधानमन्त्री सिंहको नाममा प्रक्रिया मिलाउँदा केही ढिला हुनसक्ने बताइएको छ ।

परराष्ट्र मन्त्री लगायतको टोली भने साढे चार बजे नै त्यस तर्फ प्रस्थान गर्ने भएपनि बाँकी प्रक्रिया मिलाएर उपप्रधानमन्त्री सिंह बुधबार ढिलो गरी त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । सिंहसँग उनकी श्रीमती र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि न्यूयोर्क जानेछन् ।