बिरगंज जेष्ठ २१

वीरगञ्जमा आयोजित प्रदेश नं। २ को अन्तरजिल्ला राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सकिएको छ ।वीरगञ्जको नारायणी रंगशालामा सञ्चालित प्रतियोगितामा पर्सा जिल्ला प्रथम भएको छ । १२ वटा स्वर्णसहित प्रथम हुन सफल पर्सा जिल्लाले २० हजार नगद पुरस्कार हात पारेको छ ।त्यसगरी १० स्वर्ण र ९ वटा रजत पदकसहित सर्लाही द्वितीय र १० स्वर्ण र २ रजत पदकसहित धनुषा तृतीय हुन सफल भएको छ ।द्वितीय र तृतीय हुन सफल जिल्लाले क्रमशः नगद १५ हजार र १० हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई मेडल र प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र सप्तरी गरी प्रदेश नं २ को ८ जिल्लाका ६ सय खेलाडीहरुले विभिन्न विद्यामा प्रतिस्पर्धा गरेका थिए ।दौड, उस्सु, लङ्गजम्प, हाइजम्प, भलिबल लगायतका २२ वटा इभेन्टमा प्रतिस्पर्धा भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।