वीरगंज, मंसिर २६
प्रदेश नं. २ को राजधानी वीरगंजलाई तोक्न पुर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताले जोडदार माँग गर्नुभएको छ । नेता गुप्ताले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नव निर्वाचित माननीय सांसद, प्रदेश सदस्यहरु, सरकार, राजनीतिक दल, समाजका बिभिन्न तह र तप्कालाई सो आग्रह गर्नुभएको हो । नेता गुप्ताले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका , देशमै सबैभन्दा बढी राजस्वको परिचालन, औद्योगिक करिडोर, सुख्खा बन्दरगाहा आर्थिक राजधानी, नेपालको प्रबेशद्धार ,निजगढमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण, फाष्ट ट्रायाक निर्माण तथा मधेश आन्दोलनको केन्द्र बीरगंज भएकोले हरेक दृष्टीले वीरगंज राजधानीको लागि योग्य रहेको बिज्ञप्ती मार्फत जनाउनु भएको छ । जारी भएको संबिधान अझै पूर्ण हुन सकेको छैन साथै देश र जनताको आवश्यकता अनुसार समयानुकूल परिमार्जन हुँदै जाने कुरामा सबै बिश्वस्त रहेको जनाउदै हालै सम्पन्न निर्बाचनको जनमतले समेत प्रदेशको राजधानी बीरगंजलाई तोक्ने संकेत दिएकोले वीरगंजलाई राजधानी बनाउन नेता गुप्ताले बिज्ञप्ती मार्फत जोडदार मागँ गर्नुभएको छ ।