बिरगंज,२१ पुस । प्रदेश नं २ को राजधानी बिरगंजलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आज देखि  रिले अनशन शुरु गरेको छ । बिरगंज  महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत समेत गरेका छन् । रिले अनशनको पहिलो दिन आज पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, ओम प्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका छन् ।बिरगंजलाई प्रदेश नं २ को राजधानी नबनाएसम्म आन्दोलन जारी रहने नेता शम्भु गुप्ताले जानकारी दिनुभयो । फोरम राजपाको सरकार बन्ने लगभग निश्चित रहेको प्रदेश नं २ मा फोरम नेपाल राजधानीको विषयमा मौन रहेको समयमा फोरम नेपालबाटै निर्वाचित बिरगंज का मेयरले राजधानी बिरगंज हुनुपर्ने माग सहित शुरु भएको आन्दोलनमा सहमति जनाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको मेयर सरावगीले जानकारी दिए ।