वीरगंज १९ साउन । पोखरिया नगरपालिका–१ खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । साविक गाविस पोखरिया रहेको सो वडालाई आज पर्साका प्रजिअ केशवराज घिमिरेले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । पोखरियामा आयोजित घोषणासभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रजिअ घिमिरेले खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्र नपुग्ने भन्दै त्यसको अनुगमन पनि गर्न निर्देशन दिए । सबैको चर्पी बनिसकेको अवस्थामा खुला दिसा गर्नेलाई पक्राउ गरेर दण्डित गरेको खण्डमा मात्र विकृतिले विश्राम पाउने उनको तर्क थियो । प्रजिअ घिमिरेले सामाजिक अभियानमा देखिएको एकरुपता विकास अभियानमा पनि देखाउन राजनीतिक दल, स्थानीय व्यक्तिहरुलाई सुझाए । उनले जिल्लालाई भ्रष्टाचारमुक्त बनाउन सबैको सहयोग आवश्यक हुने तर्क गरे । पर्सा जिल्लामा भ्रष्टाचारलाई बढावा दिने र अनियमितता गर्नेमा सबैभन्दा अग्रस्थानमा ठेकेदारहरु रहेको आरोप लगाए । उनले यस वर्ष ९ वटा स्वास्थ्य चौकी निर्माणको ठेक्का भएकोमा दुईवटा निर्माण भएको र ७ वटा ढिलासुस्तीमा कार्य सम्पन्न नभएको भन्दै विकास निर्माणका काममा सबैको चासो अनिवार्य हुनुपर्ने बताए । वडा सचिव साधु साह रौनियारको अध्यक्षतामा सम्पन्न घोषणासभामा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डे, पोखरियाका कार्यकारी अधिकृत नाथु साह, रेडक्रस पर्साका सभापति पूmलमहम्मद मिया, पूर्व सांसदद्वय रामेश्वर रौनियार, प्रद्युम्न चौहान, राजनीतिक दलका रामबाबू बैठा, श्रीकृष्ण चौहान, भगवान कुर्मी, रामनारायण सिंह, दीपनारायण रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगर स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति पर्साको आयोजनामा भएको थियो । पोखरिया–१ मा ९९५ घरधुरी रहेको र सबैको चर्पी बनिसकेको बताइएको छ ।