वीरगंज, साउन १ । सेवा भनेको मानविय हुनुपर्छ त्यसमा कुनै पनि जात, धर्म, लिंग, रंग आदिको भेद हुनुहुन्न भन्ने कुराको सन्देश दिएका छन परवानीपुरका युवाहरुले । डेढ बर्षको उमेरमा ब्लड क्यान्सरबाट पिडित जीतपुर–सिमरा उपमहानगरपालिका–१५ डुमरवानाको सुहाना सापकोटाको जीवनरक्षाका लागि परवानीपुरमा स्वर्गीय रामाज्ञा यादव मेमोरीयल ट्रष्टले हिजोदेखि बजारमा टेन्ट लगाएर सहयोग संकलन अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि डुमरवानाका स्थानीयले बालिकाको उपचारार्थ सहयोग जुटाउन अभियान सुरु गरेको हो । अभियानका क्रममा स्थानीयले झण्डै दुई लाख रकम संकलन गरेका छन् । बालिकाको जीवनरक्षाका निम्ति स्थानीयले स्वस्फूर्त आर्थिक सहयोग संकलन गरेको सस्थाका अध्यक्ष प्रशान्त यादवले बताए । संकलित रकम परिवारलाई हस्तान्तरण गरिने ‘सुहाना बचाउ अभियान’ नै चलाउने यादवले बताए । डुमरवानाका सुदर्शन र शर्मिलाकी छोरी सुहाना एक महिनादेखी भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारार्थ छिन् । चिकित्सकले उपचारपछि उनको स्वास्थ्यमा सुधार हुन सक्ने बताएपछि सापकोटा परिवारले ऋण खोजेर बालिकाको उपचार गर्दै आएका छन् ।उपचारमा पाँच लाख भन्दा बढी रकम खर्च गरिसकेका र अझै रकमको आवश्यकता रहेको सापकोटा परिवारले सहयोगका लागि अपिल समेत गरेका छन । सहयोग संकलन अभियानमा सस्थाका तिवारी यादव, बिरेन्द्र यादव, प्र्रेम यादव, सजय पासवान, साहिद आलमलगायत सहभागि छन ।