वीरगंज ११ जेष्ठ। बजार अनुगमनको नाममा साना तथा किराना व्यवसायिहरुलाई पटक पटक वाणिज्य कार्यालयको नेतृत्वमा खटिने बजार अनुगमन टोलीले आतंकित पार्ने गरेको विषयलाई लिएर आज वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको नेतृत्वमा गएको टोलीमा पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश शर्मा, गोपाल केडिया, सह–कोषाध्यक्ष पे्रम चन्द्र गोयल सम्मिलित टोलीले साना तथा किराना व्यावसायीहरुको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेलाई आग्रह गरेका छन् ।

सो अवसरमा पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले बजार अनुगमनको नाममा व्यापारीहरुलाई मानसिक यातना दिने काम भइरहेकोले अविलम्व यस्ता गतिविधि रोक्न  माग गर्नु भएको थियो ।

व्यवसायिहरुलाई प्रमुख जिल्ला अधिकारी घिमिरेले नितिगत र व्यवहारीक कुरा हेरी उत्पन्न समस्याको समाधान गरिने बताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वञ्जारा, शेखर छतकुलि, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, लगायत स्थानिय थोक तथा खुद्रा व्यापारीहरुको उपस्थिती रहेको थियो ।