बीरगंज, २० असोज । जारी मधेस आन्दोलनको कारण पर्सा बाराका उद्योगहरु बन्द हुने क्रममा छन् भने अर्बौको क्षति भएको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले ६० दिन पुग्नलाग्दा अर्बौको क्षति भइसकेको बताउनुभयो । वहाले डिटेन्सन चार्ज, बैंक ब्याज, मजदुर, र रेलवे शुल्क गरी व्यवसायीहरुलाई अर्बौको घाटा भइसकेको बताउनुभयो । वहाले १२ दिनदेखिको नाकाबन्दीपछि उद्योगहरुको अवस्था थप जटिल भएर कच्चा पदार्थको अभावमा बन्द गरिनुपर्ने अवस्था सिर्जना भएको बताउदै जगदम्बा गु्रपहरुको उत्पादन बन्द भएको जानकारी दिनुभयो । वहाले सूर्य नेपालले दुई महिनासम्मको कच्चा पदार्थ सञ्चय गरी राख्ने हुनाले सो उद्योग सञ्चालनमा रहेको तर अन्य उद्योगहरु भने कच्चा पदार्थ मजदुरहरुको काम बन्द, कोइला, पेट्रोलियम पदार्थको अभावले बन्द भएको बताउनुभयो । पर्सा, बारामा साना–ठूला गरी करिब २ हजारको हाराहारीमा उद्योगहरु रहेका छन् ।